२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

हरेक कामलाई तथ्याङ्कले मूल्याकंन गरिन्छः मुख्यमन्त्री आचार्य

दाङ, १२ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याकंन गरिने बताए । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याकंन  गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउदा वास्तविकता पत्ता लगाउन सकिने उनको भनाइ छ । प्रदेश योजना आयोगको आयोजनामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आर्थिक, सामाजिक, भौतिक लगायत सबै क्षेत्रका तथ्याङ्कलाई यथार्थपरक बनाउनुपर्ने बताए  ।

‘डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धि हो । यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनुपर्छ’ उनले भने ,‘हरेक कामको मूल्याकंन तथ्याङ्कको आधारमा गर्नुपर्छ । यसमा सबैले ध्यान दिनुपर्ने छ ।’ प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधार लगायत सबै विषय र पक्षका तथ्याङ्कलाई एकीकृत गरेर एकै ठाउँमा तथ्याङ्क राखिएको छ । विगतमा तथ्याङ्क खोज्न र प्रयोग गर्न समस्या थियो । तर, अव देखी प्रदेशसँग सम्बन्धित सबै तथ्याङ्कहरू डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्याङ्क प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कवरले बताए । पोर्टलमा प्रदेश सरकारका विषयगत मन्त्रालयहरूले तयार पारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरण लगायत सबै क्षेत्रका तथ्याङ्कलाई एकीकृत गरिएको छ । यसका साथै स्वतन्त्र अनुसन्धानकर्ताहरूले तयार पारेका तथ्याङ्कलाई समेट समेटिएको छ । प्रदेशको समग्र विकासमा एकीकृत तथ्याङ्कले टेवा पुग्ने नेपाल ईन डाटा कार्यालयका प्रमुख तथ्याङ्क अधिकृत सन्तोष गरतौलाले बताए  ।

डाटा पोर्टललाई तथ्याङ्क बैङ्कको रुपमा प्रयोग गर्न सकिने  उनको भनाई छ । सङ्घ, प्रदेश, जिल्ला र पालिका सम्मका तथ्याङ्कहरू समावेश गरिएको छ । प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरिरहेको छ । पहिलो आवधिक योजना निर्माण गर्दा तथ्याङ्कको अभाव भएपनि अव बनाउने आवधिक योजनाहरूमा डाटा पोर्टलमा रहेका तथ्याङ्कले सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस