काठमाडौ, १६ भदौ । अबदेखी अस्पतालहरुले सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको ओपीडी अर्थात बहिरङ्ग सेवा सञ्चालन गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा बहिरङ्ग सेवासमेत सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने गुनासो आएको हुँदा सार्वजनिक विदाका दिनमा पनि सेवा प्रवाह गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
मन्त्रीपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ । विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयनमा लगिने बताएका हुन ।