२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

डेङ्गीबाट बच्न लार्भा नष्ट गर्ने अभियान

दाङ,२१ भदौ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो अभियान थालिएको हो । प्रत्येक साताको शुक्रबार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना अघि सारिएको छ । यो अभियान उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्धन शाखाको आयोजनामा आजदेखी सुरु भएको हो ।

अभियानको पहिलो दिनमा नगर प्रमुख टिकाराम खड्का, महाशाखा प्रमुख, स्वास्थ्यकर्मी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारको टोलीले विभिन्न क्षेत्रहरूमा सचेतना कार्ड वितरण गर्दै लार्भा नष्ट गरेका छन् । यस क्रममा विपी चोक, पिपलवोट,न्यूरोड, नयाँबसपार्क लगायतका स्थानमा घर तथा पसलका वरपर पानी जम्न नदिने र सरसफाइ गर्ने अपिल गरिएको छ ।

अभियानको क्रममा सबैभन्दा धेरै कवाड संकलन केन्द्र, होटल र केही घरमा राखिएका गमला, टायर, ड्रममा सरसफाइको अभाव देखिएको थियो । जहाँबाट भेटिएका लार्भा नष्ट गरिएको छ । नगर प्रमुख टिकाराम खड्काले नगरवासीलाई डेङ्गीबाट जोगिन सतर्कता अपनाउन अपिल गर्दै वातावरणीय सरसफाइमा स्थानीय सरकारको मात्र भर नपरी नागरिकहरूले पनि आफ्नो कर्तव्यका रूपमा पालना गर्न आग्रह गरेका छन् । अभियानका क्रममा जोखिम देखिएका क्षेत्रमा हरेक सातामा अनुगमनलाई तीव्रता दिने जनस्वास्थ्य महाशाखाका अहेव विष्णु गिरीले जानकारी दिए ।उनले डेङ्गीबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै यसका लागि ठोस उपचार नभएको, तर लक्षणअनुसार उपचार गरिने जानकारी दिए ।

तुलसीपुरमा गत वर्ष १ सय ९१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको थियो भने चालू वर्षको साउन महिनामा २२८ जनाको जाँच गरिएकामा ८९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए । केसीका अनुसार पुष्टि भएका मध्य २० जना अस्पताल भर्ना भएका थिए भने अन्य सबै सामान्य उपचारपछि निको भएका छन् । डेङ्गी सङ्क्रमण भएमा एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् । जटिल अवस्थामा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने महाशाखा प्रमुख ओम पी न्यौपानेले बताएका हुन । बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवतीहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस