२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गर्ने सांसद ‘डिबी’ जेल चलान

दाङ, २३ भदौ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी)ले जिल्ला अदालत रुकुमकोटमा आइतबार दिउँसो आत्मसमर्पण गरेका छन । किर्ते मुद्दामा दोषी ठहर हुनुभएका डिबीले दिउँसो साढे १२ बजे अदालतमा पुगेर आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण लगत्तै डिबीलाई सजाय भुक्तानका लागि रुकुम पश्चिम जिल्ला कारागारमा चलान गरिएको अदालतका नायव सुब्वा ओविराम खड्काले जानकारी दिएका हुन ।

३३ वर्ष पहिले साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उहाँ फरारको सूचीमा रहँदै आउनु भएको थियो । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको थियो । गत निर्वाचनमा डिबी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित हुन ।

२०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो । रूकुम पूर्वी जिल्ला अदालतका तत्कालीन शाखा अधिकृत राधाकृष्ण रिजालका अनुसार सोही वर्ष साउनमा जिल्ला अदालतले जिल्ला प्रहरी रूकुम पूर्वमा फैसला कार्यान्वयन हुन बाँकी लगत पठाएको थियो । तर डिबी प्रहरीको नजरमा फरार सूचिमा थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस