२०८३ भाद्र २४ गते बुधवार | 2026 September 9th Wednesday

रूपलाल चार वर्षपछि घर आउँदै थिए, क्वालालाम्पुर विमानस्थलमै अस्ताए

दाङ, २३ भदौ । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका रूपलाल चौधरी (लालु) को मलेसियाको क्वालालाम्पुर विमानस्थलमा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्षअघि मलेसिया गएका चौधरी आइतबार साँझ नेपाल फर्कने क्रममा थिए । क्वालालाम्पुर विमानस्थलभित्र यात्रु प्रतीक्षालयमा उनी अचेत भएका थिए ।

लडेकै ठाउँमा उनको मृत्यु भएको मलेसियामै रहेका उनका भाइ लोकमणि चौधरीले परिवारलाई जानकारी गराएका छन् । उनका आफन्त घनश्याम चौधरीले मलेसियाबाट लोकमणिले दाजुको मृत्यु भएकोबारे  परिवारलाई खबर गरेको जानकारी दिए ।

परिवारका सदस्यहरूले शव छिटो नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन् । ‘घर फर्कन बोर्डिङ पास लिएर प्रतीक्षालयमा बसेका दाजु लडेर मृत्यु भएको खबर लोकमणिले सुनाएका छन्,’ घनश्यामले भने, ‘हृदयघातका कारण उनको मृत्यु भएको भन्ने अस्पतालको भनाइ रहेछ ।’ रूपलाललाई सामान्य ज्वरो पनि आएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस