दाङ, २५ भदौ । व्यक्ति हत्या आरोपित लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । मंगलबार बेलुकी उनले मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री कुर्मीले पदबाट राजीनामा बुझाएको सेतोपाटीलाई बताए । तर, सोबारे पत्र भने बुधबार मात्रै आफूसमक्ष आइपुग्ने उनले बताए । कुर्मी नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी भएका थिए । उनी साउन ७ गते मन्त्री भएका थिए । हत्या आरोपितलाई मन्त्री बनाएको भन्दै विरोध हुँदै आएको छ । उनीमाथि बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोप छ । उनलाई तत्काल हटाउनुपर्ने माग राख्ने बाँकेका केही अभियन्ताहरू काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।
प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार