काठमाडौ, ३१ भदौ । सहकारीको बचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको निष्कर्ष निकालेको छ । समितिको छानबिनबाट राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेले गितेन्द्रबाबु राई (जीबी) ले विभिन्न सहकारीबाट ल्याएको रकम दुरुपयोग गरेको समेत समितिले निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको आजको बैठकमा समिति सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेका छन । सभामुख देवराज घिमिरेले प्रतिवेदनलाई कार्यान्वयन लागि सरकारलाई पठाउन निर्देशन दिएका हुन । समितिले साढे २ महिनाको अवधिमा ४५१ जना व्यक्तिसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिएका हुन । छाननिका क्रममा ५५ जनासँग सोधपुछ गरिएको र फरार सूचीमा रहेका दुई जनाको भनाई पनि समेटिएको उनले बताएका हुन । प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले गठन गरेको समितिले जेठ २३ गतेबाट काम थालेको थियो । समितिलाई तीन महिनाको समयावधि दिइएकोमा १५ दिन थप गरिएको थियो ।
यसैबिच संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका पाँचवटा सहकारीको ६५ करोड रुपैयाँ रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको निष्कर्ष निकालेको छ । समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । समिति सदस्य तथा रास्वपाका सांसद शिशिर खनालका अनुसार सहकारीबाट गोर्खा मिडियामा रकम लैजान रवि लामिछानेको भूमिका देखिएको छैन । तर सहकारीबाट गैरकानुनी रुपमा ल्याएको रकम प्रबन्ध निर्देशकका रुपमा रविमार्फत खर्च भएको छ । समितिले यसैलाई आधार मानेर रविलाई कारबाही गर्न सिफारिस गरेको हो । यसैबिच, समितिको निष्कर्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले सन्तोष व्यक्त गरेको छ । सभापति रवि लामिछानेले आफूलाई संसदीय समितिले लाञ्छनाबाट मुक्त गरेको बताएका हुन । अव आफुले कहि बोल्न नपर्ने समितिको प्रतिवेदनले नै बोलेको जवाफ दिएका हुन । लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अधिकार आफु मातहत नरहेको भन्दै लामिछानेले जुन विषयमा लान्छना लागेको थियो त्यसमा समितिले स्पष्ट पारेको बताएका हुन ।