२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

आजदेखि सोह्र श्राद्ध शुरु

दाङ, २ असोज । सोह्र श्राद्ध शुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैन । एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन् । यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन् । तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ । यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ । यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ । सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ । असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस