
दाङ, २३ असोज । बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो । तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो। पञ्चाङ्ग (पात्रो)का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्परा छ । त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा-आराधना गरिन्छ । षष्ठी तिथिमा बेलको रुखनजिक गएर ‘बिल्व निमन्त्रण’ गर्ने विधि पनि छ। यो बेलको पत्र सप्तमी तिथिमा दशैँघरमा भित्र्याइने नवपत्रिका (फूलपाती) मा समावेश गरिन्छ । मिथिला लगायतका श्रद्धालुले यो विधि मंगलबार नै गरिसकेका छन् । त्यसैले कतिपयले त बुधबार नै फूलपाती भित्र्याउँदैछन् ।