काठमाडौ, २५ असोज । एयर इन्डियाको विमानमा खराबी आएपछि बिमान केही घण्टादेखि आकाशमा परिक्रमा गरिरहेको छ । तमिलनाडुको तिरुचिरापल्लीबाट शारजाहका लागि उडेको विमानमा शुक्रबार ठूलो प्राविधिक गडबडी भए पछि यस्ताे समस्या देखा परेकाे हाे ।
भारतीय समयअनुसार साँझ ५ः४० बजे विमान उड्ने वित्तिकै ल्यान्डिङ गियरमा जोडिएको हाइड्रोलिक सिस्टम फेल भएको हो । त्यसयता प्लेन करिब साढे दुई घण्टा आकाशमा परिक्रमा गरिरहेको छ ।
एयर इण्डिया एक्सप्रेसको उडान नम्बर एएक्सबी ६१३ मा १४१ यात्रु र चालक दलका सदस्यहरू छन् । विमानमा खराबी आएकाे थाहा पाएलगत्तै विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो । जानकारीका अनुसार पाइलटले विमानमा रहेको इन्धन घटाउन आकाशमा परिक्रमा गरिरहेका छन् । यसपछि विमानको आपतकालीन अवतरणको सम्भावना रहेको छ ।
पाइलटको आपत्कालीन सन्देश पाएपछि विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गरिएको छ । आकस्मिक उद्धार टोली पनि तयार छ । विमानस्थलका सम्पूर्ण कर्मचारीलाई अलर्टमा राखिएको छ । एयर ट्राफिक कन्ट्रोलले अवतरणको घोषणा गरेलगत्तै निर्धारित प्रक्रिया अनुसार यसको आकस्मिक अवतरण गर्न सकिनेछ ।