
दाङ, १० मंसिर । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले पनि सोमबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको हो । महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा र विभिन्न सङ्घसंस्थाको सहकार्यमा अभियानको उद्घाटन गरिएको हो । कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काको संरक्षकत्व र उपमेयर स्यानी चौधरीको अध्यक्षतामा अभियानको उद्घाटन गरिएको हो ।
मेयर खड्काले महिला हिंसा अन्त्यका लागि समाजमा चरित्र र चेतनाको विकास अपरिहार्य रहेको बताए । उनले सबै वर्ग र समुदायका नागरिकलाई महिला हिंसा विरुद्धको अभियानमा सहभागी हुन आग्रह गरे नगर उपप्रमुख चौधरीले अशिक्षालाई महिला हिंसाको मुख्य कारण भन्दै शिक्षित समाज निर्माणको महत्वमा जोड दिइन । उनले महिला हिंसा अन्त्य गर्न शिक्षा र चेतनाको विस्तार आवश्यक भएको बताइन । अधिकारकर्मी सुष्मा लामिछानेले लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्वलाई उजागर गर्दै तुलसीपुर इलाका प्रहरी कार्यालयमा दर्ता भएका हिस्सासम्बन्धी मुद्दाहरूको तथ्याङ्क प्रस्तुत गरेकी थिइन् ।
२०८०/ ८१ मा १५६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये ५० वटा घरेलु हिस्सा सम्बन्धी रहेका छन् । २०७९८० मा महिला हिस्सा सम्बन्धी २५५ मुद्दा दर्ता भएको बताइन । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरी, अपाङ्ग सुधार समाजका हुमाकान्त कँडेल, दलित सेवा सँगका किरण बिक, र ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । सन् १९९१ मा क्यानडाबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ ।
यसले हिंसाको सिकार भएका व्यक्तिहरूलाई न्याय दिन र समाजमा हिंसाका घटनाहरू न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको छ । महिला, बालबालिका तथा सामाजिक शाखाका सहायक पुष्पा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखाका शिक्षा अधिकृत मनबहादुर खड्काले गरेका थिए ।