२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

हेलो मोबाइलले चुम्यो ललित स्मृति कप भलिबलको उपाधि

दाङ, १३ पुष । दाङको तुलसीपुरमा सञ्चालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधि हेलो मोबाइल तुलसीपुरले जितेको छ ।फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसीपुरमा शनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३– २५,२५–२०,२५–१७,२३–२५ र १५–१२ अर्थात ३–२ को सेटमा पराजित गर्दै हेलो मोबाइल तुलसीपुरले उपाधि जितेको हो ।उपाधिसँगै उसले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्‍यो । फाइनलमा सम्मानजनक हार ब्यहोरेको रुकुम भलिबल उपविजेतामा सीमित रहँदै नगद ३० हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै तुलसीपुर १ तृतीय भयो । उसले नगद १५ हजार कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।कार्यक्रमको समापन समारोह फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु ऐरीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशव राज केसीको प्रमुख आतिथ्य एवं तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी मोहन सुनारको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा बिजेता, उपबिजेता तथा तृतीय स्थान हासिल गर्ने टिम तथा खेलाडी, प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विद्या तर्फका सर्वोत्कृष्ट खेलाडी हेलो मोबाइलका गजनी थारू, वेस्ट स्पाईकर रुकुम भलिबलका प्रकाश बिक, वेस्ट लिफ्टर हेलो मोबाइलका सुप्रिम चन्द, वेस्ट ब्लकर रुकुम भलिबलका चन्द्र बहादुर रावत, बेस्ट लिब्रो रुकुम भलिबलकै लक्ष्मण शाही, र वेस्ट कोच हेलो मोबाइलका आकाश खनाललाई प्रमुख अतिथी, विशिष्ट अतिथिले  पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

कार्यक्रमको सञ्चालन दाङ जिल्ला भलिबल सङ्घका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारसँगै प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पूर्व सञ्चालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगायत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस