
दाङ, २१ माघ । रुकुम पूर्वमा खिचिएको सफल चलचित्र ‘घरज्वाइँ’को निर्माण टिमले नयाँ चलचित्रको घोषणा गरेको छ । घर ज्वाइँ टिमले आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको दिन नयाँ चलचित्र ‘मितज्यू’को घोषणा गरेको हो । ‘घरज्वाइँ’को सफलतापछि नयाँ चलचित्र निर्माणको तयारीमा जुटेको ‘घरज्वाइँ’का निर्माता जनक घर्ती मगरले जानकारी गराएका हुन । मितज्यूको निर्माता पनि घर्ती मगर नै रहेका छन ।
‘मितज्यू’को निर्माण टिममा लगभग ‘घरज्वाइँ’कै टिम रहने घर्तीले बताएका हुन । यस चलचित्रको निर्देशन पनि ‘घरज्वाइँ’कै निर्देशक अनिल बुढामगरले गर्ने छन । चलचित्रको निर्माण कम्पनीमा जि.एम. मुभिज प्रडक्सन प्रा.ली., लेखक महेश राई, निर्माण नियन्त्रक धनबहादुर राई, वितरणमा आर आर फिल्मसका रोहित कट्टेल र रत्न श्रेष्ठ रहने जानकारी गराइएको छ । सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै घर्तीले नयाँ चलचित्र मितज्यूको घोषणा गरेका हुन । मैले निर्माण गरेको पहिलो चलचित्र ‘घरज्वाइँ’लाई दिनु भएको अपार माया र साथले गर्दा अर्को नयाँ चलचित्र बनाउन प्रेरित भएको छु । आशा गर्दछु कि यो चलचित्रलाई पनि धेरै माया गरिदिनुहुनेछ, घर्तीले फेसबुकमा लेख्नुभएको छ ।
मगर संस्कृतिमा आधारित घर ज्वाइँ चलचित्र हिट बनेको थियो । रुकुम, रोल्पा लगायत मगर बाहुल्य ठाउँको कथालाई दर्शकले धेरै रुचाएका थिए । उक्त चलचित्र सफल भएर हौसिएको टिमले नयाँ चलचित्र घोषणा गरेको हो । उक्त चलचित्र मितको सम्बन्धमा आधारित हुने नामबाटै अड्कल गर्न सकिन्छ । चलचित्रमा को को कलाकार रहने वा कुन ठाउँमा छायाङ्कन हुने भन्ने बारेमा भने कुनै खुलाइएको छैन ।