२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउँदै

दाङ, २२ माघ । पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति देउवा दाङ आउने भएका छन् । मटावाँ, बरघर, भलमन्सा संघको आयोजनामा दंगीशरण गाउँपालिका–३ स्थित चखौरामा भेला हुने थारुहरुलाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते हुने अन्तर प्रदेशस्तरीय कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि लाग्ने छ ।

मटावाँ, बरघर, भलमन्सा संघका केन्द्रीय अध्यक्ष एवं लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार थारु भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको हो । ‘हाम्रो संस्कृति, हाम्रो सान, संस्कृति संरक्षणले बढ्छ देशको मान’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना हुन लागेको हो ।

महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत हुने अध्यक्ष चौधरीले जानकारी दिए । यस्तै मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत हुने उनकाे भनाई छ ।यस्तै, महोत्सवमा सांस्कृतिक प्रतियोगिता एवम् थारु लगायत विभिन्न जातजातिको रैथाने परिकारको प्रदर्शनी रहनेछ । थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री तथा वितरणका लागि राखिने उनले जानकारी दिए ।

सोहीअनुसार थारु भाषाको विभिन्न पुस्तक, पत्रपत्रिकाहरु, थारु हस्तकला लगायत विक्री तथा प्रदर्शनीका लागि राखिने अध्यक्ष चौधरीले बताए । महोत्सवमा उत्कृष्ट सांस्कृतिक प्रदर्शन गर्ने पहिलो, दोस्रो र तेस्रोलाई आकर्षक पुरस्कारका साथै सहभागी सबै सांस्कृतिक टोलीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभुषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत हुनेछन् । 

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलबस्तु जिल्ला हजाराैं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरू लगायत थारु समुदायकाे उपस्थिति रहनेछ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस