दाङ, ११ फागुन । प्युठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा मृत फेला परेका दम्पतीको हत्या भएको पुष्टि भएको छ । प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
शनिवार दिउँसो ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीय उनकी पत्नी हुकुमा परियार घरमै मृत फेला परेका थिए । फागुन ९ गते राती खाना खाएर सुतेका उनीहरूको बिहान अबेरसम्म नउठेपछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार, भारतमा रहेका उनीहरूका छोराहरू आएपछि मात्रै पोष्टमार्टम गरिने बताइएको छ । “दुवै जनाको टाउकोमा हानेर क्षतविक्षत बनाइएको छ । हिजोदेखि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी जानकारी दिएको छ । आशंका लागेकालाई सोधपुछ गरिरहेको प्रहरीले बताएको छ ।
प्रहरीले दम्पतीको शरीरमा गहिरो चोट लागेको जानकारी दिएका छन् । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरूको चार छोराहरू भारतमा रहेका छन् भने ३ छोरीहरूको विवाह भइसकेको प्रहरीले जनाएको छ ।