
दाङ, ८ चैत । अखिल नेपाल टेबलटेनिस सङ्घका केन्द्रीय सदस्य ऋषिराज लहरे अरुणले स्कुल स्पोर्ट्स फुटबल एकेडेमी ( एसएसएफए ) तुलसीपुरलाई फुटबल खेल सामाग्री प्रदान गरेका छन् । शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर अरनिको खेलमैदानमा खेलाडीसँगै जन्मदिन मनाउन पुगेका लहरेले फुटबलको क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको एसएसएफएलाई झन्डै ४० हजार बराबरको मोल्टन, इरा कम्पनीका २० थान म्याच बल सहयोग गरेका हुन् ।
आफ्नो जन्मदिनको केक काटेर एसएसएफएका अध्यक्ष सुधीर गुरुङलाई फुटबल सामाग्री हस्तान्तरण गरेका दाङ जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी समेत रहेका लहरेले फुटबलमा भविष्य खोज्दै गरेका खेलाडीलाई थप हौसला प्रदान गर्न सामाग्री सहयोग स्वरुप प्रदान गरिएको बताए ।
फुटबल खेल विश्वमै लोकप्रिय खेल हो ? तर केन्द्र, प्रदेश र स्थानीय सरकारले खेलकुद लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नबनाउँदाको पीडा आफूले पनि खेपेकाले आज विशेष दिनमा सिङ्गो खेल क्षेत्र र खेलाडीका लागि सहयोग गर्नुपर्छ भन्ने भावना जागृत गर्न सो सामाग्री सहयोग गरिएको उनले बताए । सो अवसरमा एसएसएफएका अध्यक्ष गुरुङले फुटबल खेल र खेलाडीका लागि गरिएको सहयोगले नियमित अभ्यासमा सहज हुने भन्दै आभार प्रकट गरे ।