सल्यान, ७ मंसिर । सल्यानको त्रिवेणीमा ‘पिमखोला मेला २०८३’ को विशेष अवसर पारेर जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पिमखोला बहुमुखी क्लबको मुख्य आयोजनामा आगामी २०८३ मङ्सिर ८, ९ र १० गते त्रिवेणी ३, ढुंगे बजारमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
विशेष खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूसहित आयोजना गर्न लागिएको यस प्रतियोगितामा विजेता टोलीले नगद रु. ५०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता (दोस्रो) टोलीले नगद रु. ३०,०००/- र तृतीय हुने टोलीले नगद रु. २०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि विधागत पुरस्कारसमेत राखिएको छ ।
पुस्तौँदेखि चल्दै आएको मेलाको मौलिक परम्परा, लोकसंस्कृति र सामाजिक सद्भावलाई जीवन्त राख्दै युवा प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । यस्तै, मेला अवधिभर भलिबलको रोमाञ्चक प्रतिस्पर्धासँगै स्थानीय कला, भेषभूषा तथा मौलिक झल्को दिने विशेष सांस्कृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरिने मुख्य आयोजक पिमखोला बहुमुखी क्लबका अध्यक्ष तारा घर्तीले जानकारी दिएका छ ।
