२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

पत्रकार बुढाको शब्दमा ‘पर्खाइमा नेपाल आमा’ गीत सार्वजनिक

दाङ, १६ चैत । पत्रकार यज्ञबहादुर बुढाको शब्दमा रहेको ‘पर्खाइमा नेपाल आमा’ गीत सार्वजनिक भएको छ । शुक्रबार तुलसीपुरस्थित रिपोर्टर्स क्लवमा एक कार्यक्रमकाबीच ग्राफिक मिडिया स्टुडियो युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको सभापतित्व तथा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले नेपालमा रोजगारीको प्रशस्त अवसर हुँदाहुँदै पनि युवाहरु विदेशीएको यथार्थ अवस्थालाई गीतमा प्रस्तुत गरिएको बताए ।

कार्यक्रममा गीतबारे जानकारी दिंदै रचनाकार यज्ञबहादुर बुढाले देशभित्रका वसन्त ऋतुहरुलाई कल्पना गरि रचना गरेको बताए । उनले आफू जन्मेको भूमि र ठाउँलाई चिनाउनको लागि दाङको तुलसीपुर क्षेत्रमा गीतको छायाँङ्कन गरिएको बताए । देश रोइरहेको बेला, छट्पट्टिएको बेला युवाहरु विदेशीएको अवस्थालाई देखेर त्यसको प्रतिकारको रुपमा गीत रचना गरेको उनको भनाइ थियो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेशकुमार गुरुङ, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, जनपत्रकार संगठनका प्रदेश संयोजक हेमन्तप्रकाश वलीलगायतकाले बोलेका थिए ।

उक्त गीतमा गायक तथा संगितकार शेरबहादुर डाँगी र गायिका रोजिना बस्नेतको स्वर रहेको छ, भने सुशान्त मल्ल, पवित्रा केसी, विजय मल्ल लगायतको अभिनय रहेको छ ।

गायक शेरबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संचारकर्मी एच. आर. मगरले गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस