
दाङ, २० चैत । दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ शुरु भएको छ । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा बुधबारदेखि २३ गतेसम्म प्रदेशभरिका १२ जिल्लाका खेलाडीको सहभागितामा प्रतियोगिता शुरु भएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा चार समुह विभाजन गरी प्रतियोगिता भइरहेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता पहिलो दिन ६ वटा खेल भएको उनले बताए ।
पहिलो दिन भएको खेल अनुसार, पाल्पामा लगातार दुई खेलमा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ । चार समुह विभाजन गरी खेल तालिका बनाइएकोमा समुह ‘ बी ’ बाट पाल्पाले अर्घाखाँची र नवलपरासी पश्चिमलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा रुकुम पूर्वले गुल्मीलाई ३–० को सोझो सेटमा हरायो । दोस्रो खेलमा पाल्पाले अर्घाखाँचीलाई ३–० को सोझो सेटमा हराउँदा तेस्रो खेलमा बाँकेले प्यूठानलाई पनि ३–० कै सोझो सेटमा हराएको छ । यसैगरी, चौथो खेलमा रूपन्देहीले दाङलाई ३–० कै सोझो सेटमा हराउँदा पाचौँ खेलमा रोल्पाले रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । छैटौँ खेलमा पाल्पाले नवलपरासी पश्चिमलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै पाल्पाले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।