२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का

उद्यमशीलता (Entrepreneurship) को मूल मन्त्र के हो भने – कुनै व्यवसायको नक्कल गर्नु होइन, त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्नु हो । पुरानै चीजलाई नयाँ ढंग, नयाँ सोच र नयाँ शैलीमा रूपान्तरण गर्नु नै साँचो उद्यमशीलता हो ।

आज हामी जुन बजारको कुरा गर्दैछौं, त्यो हो तुलसीपुर बजार । यहाँको एउटा सामान्य परिपाटी बनेको छ — एक जनाले मोबाइल पसल खोल्यो, मेहनत गर्‍यो, सेवा राम्रो दियो र राम्रो आम्दानी गर्‍यो । त्यसपछि अर्कोले सोचे, “उस्तै पसल खोले भने म पनि त्यत्तिकै कमाउँछु ।” उसले पनि मोबाइल पसल खोल्यो — तर सोच, शैली, सेवा सबै पहिलेको जस्तै । फेरि अर्काेले पनि त्यही गरे । यसरी गर्दा–गर्दा बजारमा मोबाइल पसलको संख्या आवश्यकता भन्दा धेरै भयो । नतिजा के भयो? पहिले सुरु गर्नेले त टिके, बाँकीले घाटा बेहोरे ।

भास्य निर्माण: बादरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि बनाउन दिदैन…

त्यसरी नक्कल गर्नेलाई न त आफ्नै व्यवसाय टिक्छ, न अरुको व्यवसायको सम्मान गर्न आउँछ । यस्तो परिस्थितिमा बजारमा एक नकारात्मक सोच फैलिन्छ —

“यहाँ केही हुन्न”,

“विदेश जानु बाहेक उपाय छैन”,

“नेपालमा व्यवसाय गरेर बाँच्न सकिन्न ।”

यस्तो सोच दिनहु सुनिन्छ — र विस्तारै यो ‘सामूहिक भास्य’ बन्छ । जसले युवा पुस्तालाई उद्यम गर्नबाट टाढा लैजान्छ ।

असफल नक्कलको सूची 

तुलसीपुर बजारमा अहिले यस्ता धेरै व्यवसायहरू छन् जसले साँचो अर्थमा नयाँपन ल्याउन सकेनन् ।

• स्केट पार्क

• किराना पसल

• मासु पसल

• फेन्सी पसल

• मेडिकल

• होटल/रेस्टुरेन्ट

• सैलुन/पार्लर

यी सबै एउटै ढाँचामा छन् — एउटाले गरेपछि अरूले पनि त्यसै गरे। न योजना, न नवप्रवर्तन, न विशिष्टता ।

के व्यवसाय सफल हुँदैछन् त ?

अवश्य हुँदैछन् । तर ती मात्र जुन उस्तै देखिए पनि नयाँ शैली, नयाँ सोच, विशेष सेवा, वा स्थानीय संस्कृतिसँग मेल खाने किसिमले प्रस्तुत गरिएका छन् ।

उदाहरणका लागि:

• नेपाली झुपडी शैली क्याफे, जसले पर्यटकलाई परम्परागत स्वाद र अनुभव दिन्छ ।

• थिम बेस्ड सैलुन, जहाँ सेवा मात्र होइन, माहोल नै फरक हुन्छ ।

• फ्युजन फुड किचेन, जहाँ नेपाली स्वादलाई आधुनिक व्यंजनसँग मिलाएर परोसिन्छ ।

उद्यमशीलताको ५ मूलभूत सिद्धान्त

1. समस्या पहिचान गर्नुहोस् — समाजको कुन समस्या तपाईंले समाधान गर्दै हुनुहुन्छ ?

2. नवप्रवर्तन ल्याउनुहोस् — नयाँ सोच, नयाँ तरिका, नयाँ प्रविधि प्रयोग गर्नुहोस् ।

3. अनुकरण होइन, अन्वेषण गर्नुहोस् — अरुको देखेर होइन, आफ्नै मौलिकता देखाएर अघि बढ्नुस् ।

4. सेवा वा उत्पादनमा मूल्य थप्नुहोस् — ग्राहकले तपाईंबाट के फरक पाउँछ ?

5. धैर्य र योजना बनाउनुहोस् — एकैचोटि सफल भइहाल्नुपर्छ भन्ने होइन, योजना, परीक्षण र सुधार गर्दै जानुहोस् ।

निष्कर्ष

नेपालमा व्यवसाय गरेर बाँच्न सकिन्न भन्ने भास्यलाई हटाउने एकमात्र उपाय हो — साँचो उद्यमशीलता अपनाउने ।

पहिले उद्यमशीलताको सिद्धान्त बुझ्नुस्, त्यसपछि बजारमा के नयाँ गर्न सकिन्छ भनेर सोच्नुस् ।

यदि तपाईंले अरुको नक्कल गर्नु भयो भने, सफलताको सट्टा पछुतो आउँछ ।

तर, यदि तपाईंले आफ्नै सोच, मौलिकता र नवीनता लिएर व्यवसाय गर्नुभयो भने —

त्यो व्यवसाय सफल हुन्छ, र तपाईं उदाहरण बन्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस