
देशको शिक्षा क्षेत्रमा अहिले एक निर्णायक मोड आएको छ । अग्रगामी शिक्षा ऐन जारी गर्ने विषयमा शिक्षक सरोकारका विषयमा सरकारसँग वार्ता र दबाबको कार्यक्रम जारी छ । देशभरिका शिक्षकमाझ आन्दोलनको ज्वारभाटा आएको छ ।कसैले सडकमा नाराबाजी गरिरहेका छन्, कसैले शिक्षाको भविष्यका लागि कलमलाई व्यानर बनाएका छन् । तर त्यही समयमा, केही शिक्षक मित्रहरु घरभित्रै लुकेर बसेका छन् । अझ चिन्ताको विषय त के छ भने, केही शिक्षक मित्रहरु आफ्ना पार्टीका नेताको आदेश कुरेर, आन्दोलनलाई असहयोग गर्न तल्लीन छन् ।
यो घडीमा प्रश्न उठ्छ—शिक्षकको पहिचान के हो ? के तपाइ केवल एक दलको झोला बोक्ने कार्यकर्ता हुनुहुन्छ ? कि एक सचेत, विवेकशील र स्वतन्त्र पेशा अभ्यास गर्ने नागरिक, जसको धर्म शिक्षालाई जोगाउनु हो ?
शिक्षकको संघर्ष केवल तलब वृद्धिको लागि मात्र होइन। यो लडाइँ शिक्षाको गुणस्तर, पेशागत सम्मान, सेवा सुरक्षाको ग्यारेन्टी, र शिक्षाको सार्वभौमिकताको पक्षमा हो । यस्तो महत्वपूर्ण विषयमा समेत चुप लाग्ने, घरमै बसेर हेर्ने, वा नेताको संकेतमा आन्दोलनलाई कमजोर पार्ने शिक्षकहरूलाई अब प्रश्न गर्नैपर्छ—तपाईंको उत्तरदायित्व के हो ?
पार्टीलाइ प्रेम गर्नु खराब होइन । तर त्यो प्रेम तब हानिकारक बन्छ, जब तपाईं पार्टीको आदेशमा आफ्नो पेशा, आफ्नो समुदायको हित विरुद्ध उभिन पुग्नुहुन्छ । तपाईं शिक्षक हुनुहुन्छ, नेताको श्रोता मात्र होइन । जब शिक्षकहरू सडकमा छन्, तपाईंको मौनता कायरताको परिभाषा बन्न जान्छ । झोला बोकेर नेताको पछि लाग्दा शिक्षाको वास्तविक एजेण्डा हराउने हो, त्यो एजेण्डा तपाईंको पनि हो भन्ने बिर्सनुहुँदैन ।
कतिपय साथीहरू ‘परिस्थिति के हुन्छ हेर्ने’ भन्दै घरैमा बसेका छन् । उनीहरूलाई सम्झाउन जरुरी छ—अधिकार कहिल्यै पर्खेर मिल्दैन । इतिहासमा जुनसुकै आन्दोलनमा परिवर्तन ल्याउनेहरू अगाडि उभिएका थिए, पछाडि लुकेका होइनन् । तपाईंको मौनता व्यवस्थालाई सहयोग गर्ने अस्त्र बन्न सक्छ । त्यसैले यो समय मौनताबाट मुख खोल्ने समय हो ।
हामी शिक्षक हौं—देश निर्माता हौ ।
हामी नेताहरूका कार्यकर्ता होइनौं । हामी पार्टीको एजेन्ट होइनौं। हामी शिक्षक हौं—देशका मेरुदण्ड हौ भन्ने कुरा कहिल्यै भुल्नु हुँदैन । जब शिक्षण पेशा नै संकटमा पर्छ, तब हामी चुप लाग्नु भनेको शिक्षालाई संकटमा पार्ने सह-अपराधी बन्नु हो । हामीले आफ्ना अधिकारको रक्षा गर्न, शिक्षा प्रणालीको सुधार गर्न र आगामी पुस्ताको भविष्य सुरक्षित गर्न सडकमा उभिनु अत्यावश्यक छ ।
त्यसैले यो आन्दोलन हामी सबै शिक्षकहरूको साझा लडाइँ हो पार्टी को होइन । चाहे त्यो स्थायी शिक्षक होस्, राहत होस वालविकास होस अनुदान शिक्षक होस अस्थायी वा करारमा नियुक्त शिक्षक होस शिक्षकको अधिकारका लागि हामि सबै एउटै छाता मुनि उभिन जरुरी छ । जसले अझै पनि किन आन्दोलन गर्नु पर्छ भन्ने प्रश्न उठाउँछन्, उनीहरूलाई भन्नुपर्छ यो हाम्रो मात्र नभइ शिक्षण सेवामा प्रवेश गर्ने भावी पुस्ताको भविष्यको सवाल पनि हो ।
आन्दोलनको बेला मौन बस्नेहरू इतिहासमा कहिल्यै नायक बन्दैनन् । आज निर्णय तपाईं हाम्रो हातमा छ ।झोलामा गासिएको झन्डा बोक्ने कि आफ्नो विवेक र भविष्यको उज्यालो पक्षमा उभिने । हामी शिक्षक हौं, विवेकशील नागरिक हौं । अबको लडाइँमा सशक्त आवाज बनौं, नेतृत्व गरौं र देखाऔं—शिक्षक केवल पाठशालाका होइन, परिवर्तनका पनि अगुवा हुन् भनी प्रमाणित गरौ ।
लिलाधर नेपाली
सचिव
अखिल नेपाल शिक्षक संगठन दाङ