२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

तुलसीपुर उपमहानगरको तीन वर्षे उपलब्धि: ३३ किमी कालोपत्रे, ५६ संरचना निर्माण

दाङ, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो तीन वर्षे कार्यकालमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ। सोमबार नगर कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख टिकाराम खड्काले भौतिक, शैक्षिक, स्वास्थ्य, कृषि, न्याय, महिला तथा बालबालिका लगायतका क्षेत्रमा भएका उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन् ।

राजस्वमा उल्लेखनीय वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म २२ करोडभन्दा बढी राजस्व संकलन भएको उपमहानगरले जनाएको छ । अघिल्ला दुई वर्षमा क्रमशः २९ करोड र २७ करोड राजस्व संकलन भएको थियो । मेला महोत्सव कार्यविधि कार्यान्वयनले राजस्व वृद्धिमा टेवा पुगेको जनाइएको छ ।

सडक, पुल र भवन निर्माणमा ठूलो लगानी

पछिल्ला तीन वर्षमा ३३ किलोमिटर सडक कालोपत्रे, २३ किलोमिटर पक्की नाला निर्माण, ५५ किलोमिटर ग्राभेल, २ पुल र १४ विद्यालय भवनसहित ५६ वटा संरचना निर्माण भएका छन् । मेट्रो कलेज, मेट्रो अस्पताल र ट्रेड टावरको निर्माणले तुलसीपुरको भौतिक स्वरूपमा परिवर्तन ल्याएको बताइएको छ ।

कृषिमा नविन अभ्यास

कृषक परिचयपत्र, डिजिटल सूचना बोर्ड, जियो एप, कम्पोष्ट मल उत्पादन, प्लास्टिकजन्य फोहोरबाट पुन: प्रयोगयोग्य सामग्री निर्माण जस्ता कार्यक्रममार्फत कृषिमा आधुनिकता ल्याउने प्रयास भएको छ ।

सामाजिक क्षेत्रमा सशक्त उपस्थिति

दलित सशक्तिकरण ऐन ल्याउने लुम्बिनी प्रदेशकै पहिलो पालिका बन्न सफल तुलसीपुरले दुई वडालाई बालश्रममुक्त घोषणा गरेको छ। ‘मेयर कोशेली’ कार्यक्रमअन्तर्गत ८ सय जेष्ठ नागरिकलाई मह वितरण गरिएको छ ।

शिक्षा र खेलकुदमा लगानी

२८ विद्यालयमा भौतिक संरचना निर्माण र दरबन्दी व्यवस्थापनसहित शिक्षाको पहुँच विस्तार गरिएको छ । वडा नं. १५ मा क्रिकेट रंगशालाको तयारी थालिएको छ भने पालिकास्तरीय प्रतियोगिता सञ्चालन हुँदै आएका छन् ।

न्यायिक सेवा र महिला सहायता

तीन वर्षमा ५७६ उजुरी दर्ता भई ३२५ फछ्र्यौट भएका छन् । हिंसा प्रभावित महिलालाई न्यानो कपडा र बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले मिडिया साक्षरता अभियान सञ्चालनको आवश्यकता औँल्याउँदै स्थानीय सरकारसँग सहकार्यमा कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस