२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

तुलसीपुर उवासंघको ३० औं साधारणसभा, नितान्तरुपमा नयाँ ढंगले गर्दैछौं : अध्यक्ष केसी

दाङ, १९ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो ३० औं वार्षिक साधारणसभा विगतको तुलनामा फरक ढंगले सञ्चालन गर्न थालेको छ । शनिवार हुने कार्यक्रम परम्परागतगत ढंगले चल्दै आएकोभन्दा फरक तरिकाले सञ्चालन गरेर समाजमा नयाँ कोण दिन खोजिएको संघका अध्यक्ष विनिल केसीले बताएका हुन ।

विद्यमान समयमा समाजका सबैजसो क्षेत्रका कार्यक्रमहरुमा उपस्थित हुने सहभागीहरुलाई यो कार्यक्रमबाट कुन–कुन कुराबारे जानकारी लिन सकिन्छ भन्ने अनभिज्ञता हुन्छ । कर्यक्रममा अतिथिहरुका भाषण विषयवस्तुभन्दा बाहिर जाने

तथा कतिपय अवस्थामा कुण्ठा पोख्ने थलो पनि बन्ने गरेको सबैले भोगेकै विषय हुन् । ती कुराहरुलाई मध्यनजर गरेर हाल उद्योग वाणिज्य संघको टिमले यसलाई कसरी नयाँ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अतिथिहरुले धारणा राख्ने विषयवस्तु र समय निर्धारण गरेको अध्यक्ष केसीले बताएका हुन । 

‘सधैं पुरानै शैलीमा चल्नु उपयुक्त हुँदैन । युवा पुस्ताले नयाँ ढंगले सोच्नुपर्छ । विगतमा हुँदै आएका र सुधार गर्नुपर्ने विषयलाई सुधारको प्रयास थालेका मात्रै हौं । हामीलाई विश्वास छ, यो प्रयासले समाजमा नयाँ संस्कारको

स्थापना हुनेछ’– उनले भने– ‘हामीले धेरै कार्यक्रमहरुमा आयोजक र सहभागीले एउटा कुराको अपेक्षा गरेको तर अतिथिले त्योभन्दा बाहिर गएर आफ्ना धारणा राख्ने गरेको परिस्थिति भोग्दै आएका छौं । 

उद्योग वाणिज्य संघ नितान्तरुपमा उद्योग, उद्यमशिलता र व्यवसायसँग जोडिने भएकोले अतिथिका धारणा यही पेरिफेरिमा रहुन् भन्ने सोचका साथ यो ढंगले कार्यक्रम सञ्चालनगर्न थालेका हौं ।’

कार्यक्रममा प्रमुख अतिथिदेखि अन्य अतिथिहरुले धारणा राखिदिनुपर्ने विषयमा उद्योग वाणिज्य संघले शीर्षक र समय निर्धारण गरिदिएको छ । समाजका विभिन्न क्षेत्रमा जोडिएर काम गर्नुभएका व्यक्तिहरुलाई अतिथिको रुपमा

सहभागी गराएर उहाँहरुले काम गर्नुभएको क्षेत्र र उद्योग वणिज्य संघले गर्दै आएका र गर्नुपर्ने कामको बिचमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा शीर्षक र समय निर्धारण गरेर अतिथिहरुलाई जानकारी गराइसकिएको संघका

प्रेस सल्लाहकार शरद रेग्मीले बताएका हुन । 

‘अतिथिहरुले बोलेका कुरा सहभागीहरुले भाषणको रुपमा नभएर ज्ञानको रुपमा ग्रहण गरुन् भन्ने चाहनाका

साथ यो नयाँ प्रयास गरेका छौं’– उनले भने– ‘विषयवस्तुअनुसार प्रमुख अतिथिलाई पनि समय निर्धारण गरिएको छ । यसको अर्थ समयको ख्याल गरौं

र विषयवस्तु केन्द्रित होऔं भन्ने हो ।’

शनिवार बिहान ११ बजेदेखि तुलसीपुर–९ दोघरेमा रहेको उवासंघको सभा हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ । कार्यक्रममा उपस्थितिका लागि संघका महासचिव केशबराज केसीले सबै सरोकारवालाहरुलाई

आमन्त्रण गरेका हुन । कार्यक्रममा अतिथिहरुलाई उनिहरुको क्षेत्रगत विज्ञताका आधारमा विश्व बजारमा पर्यटन तथा महिला उद्यमशीलताका सवालमा अवसर र चुनौति, स्थानीय तह र निजी क्षेत्रको सहयात्रा, उद्यमशीलता

प्रवद्र्धनमा पत्रकारिताको भूमिका, व्यवसायीहरुमा कर शिक्षाको आवश्यकता लगायतका विषयहरु निर्धारण गरिएको महासचिव केसीले जानकारी दिएका हुन ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस