
दाङ, २६ बैशाख । दाङको तुलसीपुरमा प्रथम राष्ट्रिय खोखो प्रतियोगिता आजदेखी सुरु भएको छ । दाङ जिल्ला खोखो संघको आयोजनामा तुलसीपुरको अरनिको मैदानमा आजदेखी सुरु भएको प्रथम राष्ट्रिय खोखो प्रतियोगिताको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश खेलखुद परिसदका सदस्य सचिव तिरणदास गौतमले उद्घाटन गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा खेल क्षेत्रमा लगानी थोरै रहेको बताएका हुन । लुम्बिनी प्रदेशको हकमा पनी खेलखुदमा ०.१६ प्रतिशत मात्रै बजेट रहेको भन्दै उनले बजेट अभावकै कारण अपेक्षा अनुसारको काम गर्न नसकेको बताएका हुन ।

कार्यक्रमका प्रमुख अथितिसमेत रहेका सदस्य सचिव गौतमले विश्वमा खोखो खेलको इतिहास लामो भएपनी नेपालको सन्दर्भमा भने यसको इतिहास धेरै लामो नरहेको बताएका हुन । यसैगरी उनले राज्यको लगानीले मात्रै खेलखुद अगाडी बढ्न नसक्ने भन्दै खेल क्षेत्रमा निजि क्षेत्रहरुले पनी लगानी गर्न आवश्यक रहेको बताएका हुन । लुम्बिनी प्रदेशमै पहिलो पटक दाङ जिल्ला खोखो संघले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरेको भन्दै धन्यबादसमेत ज्ञापन गरेका हुन ।

खोखो संघ दाङका अध्यक्ष बालकृष्ण शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल खोखो संघका केन्द्रिय अध्यक्ष प्रदिप महर्जन, केन्द्रिय बरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाही, उपाध्यक्ष लक्ष्मिनारायण बैद्य, लुम्बिनी प्रदेश खेलखुद परिसदका सदस्य मुक्तिप्रसाद न्यौपाने, दाङ जिल्ला खेलखुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार, बर्दीया जिल्ला खेलखुद विकास समितिका कार्यालय प्रमुख भुपेन्द्र पुनमगर, नेपाल खोखो संघका केन्द्रिय सदस्य उषाँ कँवर मगर, लुम्बिनी प्रदेश खोखो संघका अध्यक्ष तुल बहादुर थापालगाएतको सहभागिता रहेको थियो । आजबाट सुरु भएको खोखो प्रतियोगिता बैशाख २८ गतेसम्म चल्ने भएको छ ।
प्रतियोगितामा ६ वटा प्रदेश र एउटा विभागिए टिम गरि ७ वटा टिमको सहभागिता रहेको छ । खोखो प्रतियोगितामा देशैभरका खेलाडीहरु दाङको तुलसीपुरमा आएका छन् । खेलमा सहभागी हुने खेलाडीहरुलाई खाने बस्नेसहित आउने जाने यातायातको समेत व्यवस्था गरिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । खेलका लागि एउटा प्रदेशबाट १२ जना खेलाडी र एक जना कोच आएका छन् । प्रतियोगिता सञ्चालनका लागी २७ लाख ६० हजार रुपैया लाग्ने अनुमान गरिएको छ । खेलको मुख्य प्रायोजकमा रहेको तुलसीपुर उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । उद्घाटन कार्यक्रमको सहजीकरण खेल पत्रकार संघ दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गरेका थिए ।