२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

अम्बिकेश्वरीले  नयाँ तीन वटा सुपर लग्जरियस बस भित्र्यायो

दाङ, ११ जेठ । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिले सुपर लग्जरियस तीन वटा नयाँ बसहरू भित्र्याएको छ । एक करोड हाराहारी मूल्यका तीन बस ल्याएपछि प्रालिले आइतबार बसपार्कमा विधिवत रुपमा बस सेवाको उद्‌घाटन गरेको छ । ल्याइएका नयाँ बसहरूको उद्‌घाटन नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रिबन काटेर गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले विगतमा आधुनिक बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउँदा नगरविकास समितिमा धाएको स्मरण गरे ।  उनले आधुनिक बसपार्क निर्माण गर्न नगर विकाससँग कहिले पाँच र कहिले दश करोड माग गर्दै आज आधुनिक बसपार्क बनेको बताएका थिए । देश विकासमा यातायातको धेरै महत्वपूर्ण भूमिका हुने भन्दै उनले जिल्लाको विकासको सूचक पनि सुविधायुक्‍त यातायातलाई मान्न सकिने बताए ।

सुविधा युक्त सेवा प्रवाह गर्ने उद्देश्यले आधुनिक बसमा लगानी गरेर जिल्लाको यातायात क्षेत्र सुधार र जिल्लाको विकासमा भूमिका खेल्ने यातायात व्यवसायीलाई उनले धन्यबाद दिएका थिए । त्यस्तै उनले नयाँ बससँगै यात्रुको सुविधा र सुरक्षामा ध्यान दिन आग्रह गरे । अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका संस्थापक अध्यक्ष भरतप्रसाद रेग्मी, यातायात महासङ्घका केन्द्रीय सल्लाहकार चिन्तामणि आचार्य लगायतले सुविधा सम्पन्न गाडी थपेको संस्थाको थप प्रगतिको कामना गर्दै यात्रुको सेवामा पनि ध्यान दिन आग्रह गरको थिए ।

अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका भिमबहादुर खत्रीले गरेका थिए । बस उद्‌घाटन कार्यक्रममा पञ्चेबाजासहित नाचगान पनि गरिएको थियो । झन्डै एक करोड मूल्य पर्ने तीन नयाँ गाडीहरू देवबहादुर बस्नेत, मिलन लामा र लोकबहादुर डाँगीले किनेको प्रालिले जानकारी दिएको छ । ती व्यवसायीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । प्रालिका अध्यक्ष बस्नेतका अनुसार हरेक दिन बसको टिकट काटेका मध्य बाट बसभित्रै चिठ्ठा काटिने र चिठ्ठा पर्नेले निशुल्क यात्रा गर्न पाउने सुविधा थपिएको पनि जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस