२०८२ साउन २ गते बुधवार | 2025 July 16th Wednesday

एच. आर. मिडिया हाउसको आयोजनामा रारा महोत्सव हुने

मुगु, १६ जेठ । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवर्द्धन र मुगु जिल्लाको कला संस्कृति भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।

छायाँनाथ रारा नगरपालिकाको संरक्षणमा र एच. आर. मिडिया हाउस प्रालिको आयोजनामा प्रथम रारा महोत्सव गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । महोत्सव आगामी जेठ १८ देखि ३१ गतेसम्म सञ्चालन हुने छ । रारा तालको पर्यटन प्रवर्द्धन गर्न र मुगु जिल्लाका कला संस्कृति भेषभुसाको उजागर तथा प्रचारप्रसार गर्ने उदेश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक एच. आर. मिडिया हाउस प्रालिले जनाएको छ । मुगुमा उत्पादन हुने वाणिज्य र औद्योगिक सामग्रीको बजारीकरण, कला सांस्कृतिक भेषभुसा र परम्पराको संरक्षण र रारा तालको पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि महोत्सव गर्न लागिएको महोत्सवका संयोजक नरेश भामले बताएका छन ।

महोत्सवमा पर्यटन क्षेत्र संरक्षण, सांस्कृतिक र औद्योगिक क्षेत्र विकासका लागि बलियो आधार हुने भएकाले जेठ १८ गतेदेखि जेठ ३१ सम्म महोत्सव गर्न लागिएको संयोजक भामले बताएका हुन । उनका अनुसार महोत्सवमा ४० स्टल राखिने छ ।

प्रथम रारा महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने सास्कृतिक संयोजक शान्तराम सेन्चुरीले बताएका छन । मुगुमा आजसम्म कुनै पनि ठूलो महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना भएको र रारा ताल नजिक छायाँनाथ रारा नगरपालिका– ८ बाम्नी चौरमा हुने महोत्सवका सल्लाहकार दिपेन्द्र भामले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस