२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

तुलसीपुरमा डेंगी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

दाङ, २१ साउन । वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको सभाध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले वडाभित्र लामखुट्टेका बासस्थान पहिचान गरी टोल टोलमा फुल, लार्भा तथा प्युपा नष्ट गर्न विकास संस्थाहरुलाई आग्रह गरिएको बताए। डेंगू नियन्त्रणका लागि टोल टोलमा सरसफाइ अभियान सञ्चालन भइरहेको र वडाले नियमित रुपमा सरसफाइमा जोड दिएको उनले बताए ।

कार्यक्रममा डेंगू फ्री नेपालका पालिका एड्भोकेट सुस्मा रानाले सहजीकरण गर्दै डेंगू रोग, यसको लक्षण र बच्ने उपायबारे जानकारी दिइन् । उनले लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र सामुदायिक भूमिका माथि प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा टोल विकास संस्था, स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरुले डेंगू नियन्त्रणका लागि एकआपसमा सहकार्य गर्दै वडालाई पूर्णरुपमा डेंगूमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस