२०८२ फाल्गुन २२ गते शुक्रवार | 2026 March 6th Friday

Gen-Z आन्दोलनमा संलग्नता भएको प्रमाण पेश गर्न चुनौती: अध्यक्ष घर्ती

दाङ, १४ असोज । नेपाल तरुण दल तुलसीपुर नगर अध्यक्ष कमल घर्तीले आफू Gen-Z आन्दोलन का क्रममा भएको कुनै पनि आगजनी वा तोडफोड घटनामा संलग्न नभएको दाबी गर्दै, प्रमाणसहित प्रस्तुत भए कारबाही भोग्न तयार रहेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष घर्तीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी वा निजी संरचना तथा व्यवसायमा भएको क्षतिमा आफ्नो संलग्नता देखाउने प्रमाण भए कानूनी वा संगठनात्मक कारबाही स्वीकार गर्ने उल्लेख गरेका हुन् ।

यसैबीच, उनले नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन् । टिका घर्तीले बिना चलानी नम्बर र अफिसियल प्रक्रिया पालना नगरी विज्ञप्ति जारी गर्दै आफूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

कमल घर्तीले यस्तो विज्ञप्ति तुलसीपुर नगर तरुण दललाई कमजोर पार्ने नियतले गरिएको भन्दै यसको घोर भर्त्सना गरेका छन् । साथै, उनले नगरका तरुणहरुलाई “फेसबुक विज्ञप्ति” जस्ता गतिविधिबाट नबिचलित हुन आग्रह गरेका छन् ।

उनले आफ्नो मानहानि गरिएको भन्दै नेपाल तरुण दल केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाङसँग आवश्यक कारबाही गर्न माग गरेका छन् ।

असोज १३ गते अध्यक्ष टिकाराम घर्तीले प्रेस विज्ञप्ति जारी गर्दै तुलसीपुर नगर अध्यक्ष कमल घर्तीसहित तीन जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस