२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

तुलसीपुरमा बृहत् सांस्कृतिक कार्यक्रम र खुला पुरुष भलिबल प्रतियोगिता हुने

दाङ, ११ कार्तिक । नवज्योति सांस्कृतिक युवा क्लब, तुलसीपुर–३ कल्लेले आफ्नो २३औं वार्षिकोत्सव तथा हरिबोधनी एकादशीको अवसरमा “बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” र खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकका अनुसार कात्तिक १३ र १४ गते खेलकुद कार्यक्रम सञ्चालन हुनेछ भने कात्तिक १५ गते विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १५,००० र दोस्रो हुने टिमलाई रु. १०,००० पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले रु. १,५०० शुल्कसहित कात्तिक १३ गते बिहान ८ बजेसम्म दर्ता गराउनुपर्नेछ । कार्यक्रमका खेल संयोजक अनिल परियार का अनुसार प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा क्लबले सांस्कृतिक प्रस्तुति, खेलकुद र सामुदायिक एकता अभिवृद्धिमा जोड दिने विभिन्न कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

क्लबका अध्यक्ष धनराज रोकाका अनुसार कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । कार्यक्रममा गायिका निर्मला देवी बस्नेत, डान्सर पूर्णिमा क्षेत्री, उद्घोषक के वि वलि लगायतका कलाकारहरूले प्रस्तुति रहने छ । 

नवज्योति सांस्कृतिक युवा क्लबले सम्पूर्ण स्थानीयवासी तथा दर्शकहरूलाई कार्यक्रममा सहभागी भई मनोरञ्जनसहित सामुदायिक एकता सुदृढ गर्न सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस