दाङ, १६ मंसिर । डल्फिन फिड्स प्रा.लि.ले आज १५० जनाको सहभागितामा व्यावसायिक कुखुरा पालनसम्बन्धी तालिम सम्पन्न गरेको छ । स्थानीय किसानलाई कुखुरा पालनलाई आधुनिक र व्यावसायिक बनाउने उद्देश्यले आयोजित तालिममा दाना व्यवस्थापन, स्वास्थ्य सुरक्षा (बायोसेक्युरिटी), उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा जोखिम न्यूनीकरण जस्ता विषयमा विज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका बजार विभाग प्रमुख लोकेन्द्र ओझाको सञ्चालनमा सम्पन्न तालिममा दाङका विभिन्न क्षेत्रका कुखुरा व्यवसायी तथा पालना सुरु गर्न इच्छुक किसानहरूको सक्रिय उपस्थिति रहेको थियो । सहभागीहरूले तालिमले उत्पादन वृद्धि, रोग नियन्त्रण तथा सञ्चालन क्षमतामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘कृषक लक्षित कार्यक्रम—व्यावसायिक किसान बनाउने अभियान’ अन्तर्गत आयोजित उक्त तालिमले किसानहरूको सीप तथा क्षमतामा सकारात्मक प्रभाव पार्ने डल्फिन फिड्स प्रा.लि.का प्रतिनिधिहरूले बताएका छन् । साथै, कम्पनीले आगामी दिनमा पनि किसानहरूको आयवृद्धि र व्यवसायिक उन्नतिका लागि यस्ता प्राविधिक तथा व्यावसायिक तालिम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।