दाङ, १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा आयोजित आँखा स्वास्थ्य शिविर तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजनामा तथा एनएबी नर्वेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला, बालबालिका तथा सामाजिक विकास शाखा तुलसीपुरको सहकार्य रहेको थियो ।
आँखा स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले गरिएको शिविरप्रति स्थानीयवासी खुशी व्यक्त गरेका छन् । अस्पताल पुग्न नसक्ने वृद्धवृद्धा, अपाङ्ग तथा आर्थिक अभावमा परेका सहजै उपचारमा पहुँच पाएको भन्दै लाभान्वित हुँदै धन्यवाद व्यक्त गरे ।
९० वर्षीया माया खड्का वर्षौंदेखि आँखाको समस्या झेल्दै आएकी थिइन् । एउटा आँखामा जन्मजात समस्या र अर्को आँखामा मोतियाबिन्दुका कारण Hospital जान नसकेकी खड्का आफ्नै घर नजिकै उपचार पाउँदा निकै खुसी भएको बताइन् ।
यसैगरी ७३ वर्षीय कर्णबहादुर केसी पनि आर्थिक समस्याका कारण अस्पतालमा जान नसकेपनि शिविरमै विशेषज्ञबाट सेवा पाएकोमा खुशी व्यक्त गरे । ८० वर्षीया नेमकुमारी चौधरीले पनि आर्थिक अभावका कारण अस्पताल जान नसकेको तर शिविरमा आएर जाँच गराउन पाएको बताइन् ।
कार्यक्रममा लैङ्गिक हिंसा सम्बन्धी सचेतना सन्देशसमेत दिइयो । महिला, बालबालिका तथा सामाजिक विकास शाखाकी माया श्रेष्ठले शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक तथा वर्गीय हिंसाबाट सबैभन्दा बढी महिला प्रभावित हुने गरेको बताउँदै हिंसा सहनु परेको अवस्थामा नलुकाई उजुरी दिन आग्रह गरिन् । शिविरमा १७४ जनाको आँखा परीक्षण गरिएको थियो । जसमा ११८ महिला तथा ५६ पुरुष सहभागी भएका थिए । परीक्षणमा ३४ जना मोतियाबिन्दुका बिरामी पहिचान भई थप उपचारका लागि राप्ती आँखा अस्पताल पठाइएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।
कार्यक्रम नेपाल नेत्र ज्योति संघ दाङका सदस्य ध्रुव गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१३ का अध्यक्ष मोहन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत शालिकराम गौतम, अस्पताल व्यवस्थापक शशि लामिछानेलगायतको उपस्थिति रहेको थियो ।