सल्यान, २८ मंसिर । कपुरकोट–कोईला सडक खण्डमा नियमित रूपमा चल्ने ओभरलोड क्षमता भएका चुनढुङ्गा बोकेका टिप्परका कारण सडक जीर्ण बनेको छ । यसले सडक प्रयोगकर्ताहरूका लागि जोखिम सिर्जना गर्नुका साथै जनजीवन अस्तव्यस्त र मानव स्वास्थ्यमा समेत गम्भीर असर पारेको बताइएको छ ।
मिलन बजार व्यवस्थापन समिति र मिलन बजार युवा क्लब, वडा नं ५, खाली सल्यानले सम्बन्धित निकायमा पत्राचार गरी गाउँपालिकालाई समेत बोध गराएका छन् । उनीहरूले दैनिक रूपमा विरोध कार्यक्रमहरू संचालन गर्दै आएको र सडक स्तरोन्नती नभएसम्म टिप्परहरूको आवागमनमा पूर्ण रोक लगाउन माग गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष भण्डारीले भनेका छन्, “सडकको स्तरोन्नती नहुँदासम्म चुनढुङ्गा बोकेका टिप्परहरूको आवागमन नगर्न र विरोध कार्यक्रमहरू संयमित एवं मर्यादीत रूपमा सञ्चालन गर्न आवश्यक छ । सम्बन्धित निकायहरूलाई पनि वार्ता र सम्वादको माध्यमबाट शीघ्रतासाथ सडक स्तरोन्नतीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ ।
