२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

दाङ–३ मा ओलीद्वारा उम्मेदवारी फिर्ता, धनबहादुर मास्कीलाई समर्थन

दाङ, ८ माघ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका गोपाल ओली ( प्रबिन) ले नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका आधिकारिक उम्मेदवार धनबहादुर मास्कीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिने सहमति गरेका छन् ।

यस सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका दाङ जिल्ला इन्चार्ज निर्मला आचार्य, सल्लाहकार शेसुराम भण्डारी, केन्द्रीय सदस्य जोग बहादुर राणा तथा वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीलगायतको उपस्थितिमा छलफल सम्पन्न भएको हो । छलफलपछि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने उद्देश्यसहित प्रबिनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

गोपाल ओली ( प्रबिन ) माओवादीका पूर्व लडाकु हुन् । उनले यसअघि नेपाली कम्युनिस्ट पार्टीभित्र विद्रोह गर्दै बाँकी उम्मेदवारी दर्ता गराएका थिए । पार्टी एकता, अनुशासन र जनताको हितलाई प्राथमिकतामा राख्दै अन्ततः आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको सहभागी नेताहरूले बताएका छन् । पार्टी नेतृत्वले यो निर्णयले दाङ–३ मा वामपन्थी शक्ति एकताबद्ध भई निर्वाचनमा सशक्त रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस