दाङ, १३ माघ । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा अन्तर्राष्ट्रिय स्तरको खो–खो प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुदमार्फत आपसी मित्रता र प्रतिस्पर्धालाई मजबुत बनाउने उद्देश्यका साथ आरबीटी क्लबको आयोजनामा माघ १५ र १६ गते दुई दिनसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा नेपाल र भारतका उत्कृष्ट खो–खो टिमहरूको सहभागिता रहने छ । प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनुका साथै दाङमा खो–खो खेलप्रति जनचासो बढाउने विश्वास लिइएको छ ।
आरबीटी क्लबकी अध्यक्ष उषा कवरका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा भइरहेको छ । “दाङको खेलकुद पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य हो,” अध्यक्ष कवरले भनिन् । प्रतियोगितामा खेलप्रेमी दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ ।
साथै आयोजकले प्रतियोगिता सफल बनाउन स्थानीय सरकार, खेलकुद संघ–संस्था, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्पूर्ण खेलप्रेमी समुदायसँग सहयोगको अपिल गरेको छ ।