२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

भारतलाई पराजित गर्दै प्रथम अन्तर्राष्ट्रिय पुरुष खो–खो प्रतियोगितामा नेपालको ऐतिहासिक जित

दाङ, १६ माघ । प्रथम अन्तर्राष्ट्रिय पुरुष खो–खो प्रतियोगितामा नेपाल खो–खो टिमले बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ । दाङको तुलसीपुरस्थित अरनिको मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतलाई हराएर प्रथम स्थान हात पारेको हो ।

आर.बी.टी. खो खो क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताको समापन कार्यक्रम क्लबका अध्यक्ष उषा कवरको सभाअध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी एच. आर. मगरले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले खो–खो खेल नेपालको मौलिक तथा सम्भावनायुक्त खेल भएको उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीहरूको मनोबल बढाउने र देशको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने बताएका हुन । उनले स्थानीय तह खेलकुद विकासमा सधैं सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. नहकुल के.सी. र दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए । विशिष्ट अतिथिहरूले नेपालको प्रदर्शनको खुलेर प्रशंसा गर्दै खो–खो खेललाई विद्यालय र समुदायस्तरबाट प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल र भारतबीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक क्षणहरूमा नेपालले धैर्य र आत्मविश्वासका साथ खेल्दै अन्ततः विजय सुनिश्चित गरेको हो । यस ऐतिहासिक जितसँगै नेपाली खो–खो टिमले अन्तर्राष्ट्रिय स्तरमा नयाँ इतिहास र पहिचान बनाएको छ । खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको कुशल प्रशिक्षण तथा आयोजकको सक्रियताका कारण यो सफलता सम्भव भएको आयोजक सस्थाका सचीव माधव गिरिले बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस