दाङ, ८ फागुन । नेपाल तरुण दल तुलसीपुर कार्यसमितिले निर्वाचन प्रचारका क्रममा देखिएको झण्डा जलाउने, पोष्टर च्यात्ने र हुलहुज्जतजस्ता अराजक गतिविधिप्रति कडा आपत्ति जनाएको छ ।
अध्यक्ष कमल घर्ती र सचिव अजय बुढाथोकीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सबै दल र उम्मेदवारलाई आचारसंहिताभित्र रहेर प्रचार-प्रसार गर्न पाउने वैधानिक अधिकार रहेको उल्लेख गरिएको छ ।
तर केही दल तथा कार्यकर्ताबाट आचारसंहिता उल्लंघन गर्दै फरक दलका झण्डा जलाउने, पोष्टर च्यात्ने, उम्मेदवारका सवारीसाधन अवरोध गर्ने, अश्लील नाराबाजी गर्ने र हुलहुज्जत गर्ने गतिविधि भएको भन्दै आपत्ति जनाइएको छ ।
तरुण दलले स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै दललाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ । साथै, आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोग र प्रशासनसँग सक्रिय भूमिका निर्वाह गर्न अपिल गर्दै यस्ता कार्यमाथि कारबाही नभए स्वच्छ निर्वाचन प्रणालीमै गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ ।