दाङ, ३० चैत । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले तुलसीपुरमा पत्रकार चेतन वली र माधव दाहालमाथि लगाइएका आरोपहरू भ्रामक, आधारहीन र नियोजित रूपमा फैलाइएको भन्दै कडा खण्डन गरेको छ ।
समितिले जारी गरेको विज्ञप्तिमा समाचारप्रति असन्तुष्टि भए कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा सार्वजनिक रूपमा फोटो टाँस्ने, चरित्र हत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत बदनाम गर्ने कार्य गैरकानुनी र निन्दनीय भएको उल्लेख गरेको छ । यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि गम्भीर आघात पुगेको समितिको ठहर छ ।
सजना मिष्ठान भण्डारसँग सम्बन्धित विषयमा प्रेस काउन्सिल नेपाल मा उजुरी परिसकेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढिरहेको अवस्थामा भ्रम फैलाउने कार्यले सत्यतथ्यलाई प्रभावित पार्ने जनाएको छ ।
समितिले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत्रकारहरूलाई दबाब र धम्कीबाट नडराई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणमा अडिग रहन आग्रह गरेको छ ।