दाङ,२० बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि सरकारले चलाइरहेको डोजर अभियानको कडा शब्दमा विरोध गरेको छ ।
पार्टीको जिल्ला समितिद्वारा जारी वक्तव्यमा सरकारले न्यूनतम मानवीय मूल्य र अधिकारको समेत बेवास्ता गर्दै वैकल्पिक व्यवस्था बिना नै सुकुम्बासी बस्तीहरूमा घर भत्काउने कार्य गरिरहेको आरोप लगाएको छ ।
वक्तव्यमा देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने क्रम तीव्र बनिरहेको र त्यसकै निरन्तरतामा दाङका बस्तीहरूलाई पनि निशाना बनाउने तयारी भइरहेको जनाइएको छ ।
यसले सर्वसाधारण नागरिकमा त्रास सिर्जना गरेको र आफ्नो बसोबास जोगाउन बाध्य भएर संघर्षमा उत्रिनुपर्ने अवस्था आएको पार्टीले उल्लेख गरेको छ ।
पार्टीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा गरिब किसानहरूको जमिन र आवासको सुनिश्चितता नगरी कुनै पनि बहानामा जबर्जस्ती विस्थापन नगर्न सरकारलाई चेतावनी दिएको छ ।
साथै, सुकुम्बासीहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गामा यथासिघ्र प्रमाणका आधारमा स्वामित्व प्रदान गर्नुपर्ने माग पनि राखिएको छ ।
वक्तव्यमा स्थानीय सरकारको समेत ध्यानाकर्षण गराउँदै सुकुम्बासीहरूको पक्षमा उभिन आग्रह गरिएको छ । पार्टीले सुकुम्बासीहरूको न्यायपूर्ण आवाज र संघर्षमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेको छ ।
