सल्यान,८ असार । सल्यानको कपुरकोट गाउँपालिका-३ स्थित कपुरकोट बजारमा ‘आरोसी अटो मोटरसाइकल वर्कसप तथा नास्ता पसल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यात्रु तथा स्थानीयवासीलाई एकै स्थानबाट मोटरसाइकल मर्मत सेवा र गुणस्तरीय खाजा नास्ता उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको उक्त व्यवसायको उद्घाटन कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले गरेका हुन् । करिब १६ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको उक्त व्यवसायका सञ्चालक सुबाश पुनका अनुसार कपुरकोट हुँदै रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व लगायत विभिन्न जिल्लामा दैनिक रूपमा आवतजावत गर्ने यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै अटो वर्कसपसँगै नास्ता पसल सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष दुर्गा बहादुर पुनले निजी क्षेत्रको लगानीले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनले युवाहरूले स्वदेशमै उद्यमशीलता विकास गरी व्यवसायमा लाग्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै व्यवसायको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
व्यवसायका संरक्षण शेरबहादुर पुनले कपुरकोट बजार मध्यपहाडी क्षेत्रलाई जोड्ने महत्वपूर्ण नाकाका रूपमा रहेको भन्दै यात्रुहरूलाई बाटोमै मोटरसाइकल बिग्रँदा सहज मर्मत सेवा उपलब्ध गराउनुका साथै स्वच्छ, स्वस्थ र गुणस्तरीय खाजा नास्ता प्रदान गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको जानकारी दिएका छन । उनले आगामी दिनमा सेवाको गुणस्तर थप वृद्धि गर्दै ग्राहकको विश्वास जित्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी, उद्योगी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै यात्रु र सेवाग्राहीलाई सहज, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको ‘आरोसी अटो मोटरसाइकल वर्कसप तथा नास्ता पसल’ ले कपुरकोट क्षेत्रको व्यापारिक गतिविधिमा समेत थप टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।
