दाङ,१३ असार । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको दोस्रो जिल्ला भेलाले सजक परियारको नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । भेलाले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ जिल्ला कमिटी चयन गरेको जनाएको छ ।
भेलामा पार्टीका केन्द्रीय सदस्य तिलक पुन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनमा पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्नेमा समेत जोड दिएका थिए ।
कार्यक्रमको सुरुवात जिल्ला सदस्य लीलामणि ओलीको स्वागत मन्तव्यबाट भएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला सदस्य नरेन्द्र बिकले गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेलामा संगठन निर्माण, पार्टी सुदृढीकरण, जनताका मुद्दा तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो ।
