दाङ, १४ असार । थारु कल्याणकारिणी सभा तुलसीपुर उपमहानगरपालिकाको नगर सभापतिमा पुरण चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार तुलसीपुर ६ जवरपुरमा भएको अधिवेशनले चौधरीलाई सर्वसम्मत रुपमा नगर सभापति चयन गरेको हो । त्यसैगरी अन्य सदस्यहरुमा कृष्णी चौधरी, अर्जुन चौधरी, मदन चौधरी, दिखी चौधरी,भरथरी चौधरी, गजाधर चौधरी, शिव चौधरी, फुलराम चौधरी र सम्रिता चौधरी रहेका छन् ।
सभापति बाहेक अन्य सदस्यहरुको हकमा कार्य विस्तारपछि मात्रै पद विभाजन गरिने कानूनी सल्लाहाकार रामशरण चौधरीले जानकारी दिए । नवनिर्वाचित सभापति पुरण चौधरीले अग्रजहरुको सहयोगमा आफ्नो क्षमताले भ्यायसम्म संस्थालाई चलायमान गराउने बताए ।
थारु कल्याणकारिणी सभा दाङ देउखर क्षेत्र नं ३ का क्षेत्रीय सभापति मोहनकुमार थारुको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य राम बहादुर दहितको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दहितले थारु समुदायको मुद्दाहरुलाई उठाउनका लागि थारु कल्याणकारिणी सदैव अग्रसर रहेको बताए । उनले थारुहरुको मुद्दा उठान गर्नका लागि थारु समुदायका व्यक्ति नेतृत्वमा पुग्न जरुरी रहेको समेत बताए । उनले केन्द्रको निर्णय अनुसार भदौ महिनाको १५ गतेसम्म नगर अधिवेशन गरेर भदौको अन्त्यतिर जिल्ला अधिवेशन गर्ने गरी तयारी भएको बताए ।
कार्यक्रममा केन्द्रीय पार्सद श्रमलाल चौधरीले जान अन्जानमा थारु जातिको पहिचान हराउदै गएको बताए । त्यसैगरी थारुहरुको संस्कृति जोगाउनका लागि थारु गुरुवाहरुको बिचमा बहस हुन जरुरी रहेको उनले बताए । कार्यक्रममा कानूनी सल्लाहाकार रामशरण चौधरीले सानो सानो कुराको ख्याल गर्न जरुरी रहेको बताए । उनले आफ्नो समुदायको कार्यक्रममा पनि थारु जातिले नै उपेक्षा गनै चलन बढेको बताए । थारु समुदायको जिवनस्तर पहिले भन्दा माथी उठेता पनि अन्य समुदायको भन्दा पछाडी नै रहेको प्रति चिन्ता ब्यक्त गरे । त्यसका लागि राजनीतिदेखि हरेक क्षेत्रमा थारु प्रतिनिधिलाई अगाडी बढाउन थारु कल्याणकारिणी सभाले आवाज उठाउन जरुरी रहेको बताए ।
कार्यक्रममा मटाँवा महासंघका नगर उपाध्यक्ष मोहन चौधरी, थारु मुक्तिमोर्चाका अध्यक्ष शिव चौधरी, नेपाल थारु संघका तुलसीपुर १२ का वडाध्क्ष खुशीराम चौधरी, दंगीशरण ३ का वडाध्यक्ष सुकलाल चौधरी, तुलसीपुर १५ का वडासदस्य मंगलसेन डेमनडौरा, बुझौना थारु लगायतले टोल विकसको नाममा गाउँको नाम परिमार्जित गरेर थारु गाउँको पहिचान मासिदै गएको बताएका थिए । आफ्नो जातिको बिषयमा कुरा उठाउन पछि पर्दा थारु समुदायलाई दबाउन खोजिएको बताएका थिए । आफ्नो अधिकारका लागि थारु समुदाय वैचारिक लडाई लड्न जरुरी रहेको उनीहरुको भनाई थियो । कार्यक्रमको सहजीकरण क्षेत्र नं. ३ का सचिव जितेन्द्र चौधरीले गरेका थिए ।
