२०८३ असार २४ गते बुधवार | 2026 July 8th Wednesday

स्वदेश फर्किएर सेकुवा व्यवसाय गर्दै दुर्गा चौधरी

दाङ, २४ असार । आठ वर्ष लामो वैदेशिक रोजगारीको जीवन बिताएर मातृभूमि फर्किएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का दुर्गा चौधरीले अहिले स्वदेशमै सेकुवा व्यवसाय सञ्चालन गरेर उदाहरणीय काम गरेका छन् । लामो समय विदेशमा श्रम गरे पनि त्यहाँको कमाइ र संघर्षले आफ्नो भविष्य सुरक्षित नहुने बुझेर चौधरीले केही वर्षअघि नेपाल फर्कने निर्णय गरेको बताए । स्वदेश फर्केपछि उनले आफ्नै लगानीमा तुलसीपुरमा सेकुवा पसल सुरु गरेका हुन् ।

दैनिक रूपमा ग्राहकको मागअनुसार आगोमा पोलेर तयार गरिने सेकुवाले स्थानीयवासीको राम्रो साथ पाएको छ । उनले परम्परागत तरिकाले तयार हुने सेकुवामा सफाइ र गुणस्तरलाई विशेष ध्यान दिएका छन् ।

“विदेशमा दुःख गरेर कमाएको पैसाले यहाँ सानो व्यवसाय सुरु गरें। अहिले आफ्नै घर, आफ्नै माटोमा काम गर्दा आत्मसन्तुष्टि मिलेको छ,” चौधरीले भने । उनको यो पहलले अहिले वैदेशिक रोजगारीमा जाने लहर चलिरहेको समयमा “स्वदेशमै पनि सम्भावना छ” भन्ने सन्देश दिएको स्थानीयले बताएका छन् । 

उद्यमशीलता र आत्मनिर्भरतातर्फ लागेका चौधरी जस्ता युवालाई स्थानीय तह र सम्बन्धित निकायले प्रोत्साहन र सहयोग का कार्यक्रमहरू अगाडि बढाउनु पर्ने बताउँछन् ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस