२०८३ साउन ३१ गते आइतवार | 2026 August 16th Sunday

कपुरकोटमा पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

सल्यान, ३१ साउन । सल्यानको कपुरकोट गाउँपालिका ४ अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आइतबार बिहान करिब ५ बजे सडक माथिबाट पहिरो खसेर राजमार्ग पुरिएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण सल्यान, दाङ तथा कर्णाली प्रदेशका विभिन्न जिल्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध भएपछि यात्रु तथा चालकहरू समस्यामा परेका छन् भने राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ । पहिरोको जानकारी पाएलगत्तै प्रहरी चौकी कपुरकोटबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै सडकमा रोकिएका यात्रु तथा सवारीसाधनको अवस्थाबारे जानकारी लिएको जनाएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन जेसीबीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यद्यपि सडक माथिबाट पुनः पहिरो तथा ढुंगा खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

वर्षायाममा कपुरकोट आसपासका सडकखण्डमा पटक पटक पहिरो खस्दा यातायात प्रभावित हुँदै आएको छ । तत्कालका लागि सडक खुलाउने कामलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस