दाङ, १२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशनमा युवा नेता तथा समाजसेवी सुरेश हमालले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
संगठन निर्माण तथा पार्टीका कार्यकर्ता सँग निरन्तर सहकार्य गर्दै आएका हमालले आफूले गर्दै आएको कामको मूल्याङ्कन गर्दै सम्पूर्ण नेता तथा कार्यकर्ताबाट साथ, माया, आशीर्वाद र अमूल्य मत प्राप्त हुने विश्वास समेत व्यक्त गरेका छन् । हमालले संगठनलाई थप मजबुत बनाउँदै कार्यकर्ताको भावना र अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता सहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी अघि सारेका हुन् ।
तुलसीपुरको कांग्रेस राजनीतिमा सक्रिय हमाल यसअघि पनि पार्टी संगठनमा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् । २०७८ सालमा उनी तुलसीपुर उपमहानगरपालिका कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । उनको उम्मेदवारीसँगै दाङ क्षेत्र नं. ३ मा कांग्रेसको क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक सरगर्मी थप बढेको देखिएको छ ।

