२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

राप्ती विद्यामन्दिरमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम

दाङ, २० माघ । राप्ती विद्यामन्दिर माध्यमिक विद्यालय, तुलसीपुर उपमहानगरपालिका–६, दाङमा अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर नगर प्याब्सनका अध्यक्ष डम्बर डाङ्गीले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै निजी विद्यालयहरूले दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन । उनले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्यबाट मात्र उज्ज्वल भविष्य निर्माण सम्भव हुने धारणा व्यक्त गरेका हुन ।

विशिष्ट अतिथि राप्ती प्रादेशिक अस्पताल सञ्चालक समिति अध्यक्ष पदमप्रसाद न्यौपानेले शिक्षा राष्ट्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै अनुशासन, नैतिकता र व्यवहारिक शिक्षाको आवश्यकता औँलाएका हुन । तुलसीपुर–६ की वडा सदस्य देवी पोख्रेलले स्थानीय तह सधैँ शिक्षाको गुणस्तर अभिवृद्धिमा विद्यालयसँग सहकार्य गर्न तयार रहेको बताएका हुन । कार्यक्रमको सभापतित्व गुठी सदस्य उषा डाँगीले गरेका थिए । विद्यालयका प्रधानाध्यापक हेमसागर सुवेदीले स्वागत मन्तव्यमा विद्यालयको शैक्षिक उपलब्धि, पूर्वाधार, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराएका हुन ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक–कर्मचारी, सवारी सहचालक तथा अभिभावकहरूलाई सम्मान गरिएको थियो । साथै माघ १३ देखि १५ गतेसम्म सञ्चालन भएका खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरूले नृत्य, गायन तथा नाटक प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। दाङ जिल्लाकै पहिलो विद्यालयका रूपमा परिचित राप्ती विद्यामन्दिरले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै अभिभावकहरूले प्रशंसा व्यक्त गरेका छन् । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक चूर्णबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस