२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

‘सडक राज्यमै अल्झियो’- राप्ती राजमार्ग विस्तारमा दाङ – ३ का उम्मेदवारको साझा प्रतिबद्धता

दाङ, २७ माघ । दाङको संघीय निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने राप्ती राजमार्ग (अमिलिया–तुलसीपुर खण्ड) को सडक मापदण्ड र विस्तारसम्बन्धी विषयमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूसँग ध्यानाकर्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्च, तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले सडक मापदण्डको समस्यालाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले ध्यानाकर्षण पत्र अध्ययन गर्दा देशका धेरै राजमार्गहरू राज्य व्यवस्थामै अल्झिएको अनुभूति भएको बताएका हुन । उनले विकास र समृद्धि नागरिकमुखी हुनुपर्नेमा जोड दिँदै यस्ता यथार्थपरक र जायज मागहरूलाई सदनमा निरन्तर उठाउने प्रतिबद्धता जनाएका हुन । ढिलासुस्ती किन हुन्छ भन्ने विषयमा आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र अब पनि चुप नबस्ने स्पष्ट पारे ।

नेकपा एमालेका तर्फबाट क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम पाण्डेले ध्यानाकर्षण पत्रप्रति पूर्ण समर्थन जनाउँदै यस विषयलाई फेरि–फेरि दोहोर्याएर उठाउन नपर्ने गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । आफू मेयर हुँदा ‘तुलसीपुर बनाउने अभियान’मा कानुनी सीमाभित्र रहेर काम गरेको स्मरण गर्दै संघीय संसदमा पुगेपछि ‘दाङ बनाउने अभियान’मा सक्रिय भूमिका खेल्ने बताएका हुन । जनपक्षीय कानुन निर्माण, कार्यालयमा सेवा लिन जाँदा देखिने कानुनी झन्झट अन्त्य गर्ने र छिटो सेवा तथा तीव्र विकासका लागि पहल गर्ने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले वर्षौंदेखि थाँती रहेका समस्याको समाधानका लागि युवाको नेतृत्व आवश्यक भएकाले आफू उम्मेदवार बनेको बताएका हुन । रोकिएका कामलाई निरन्तरता दिने र कर्णाली प्रवेशद्वारका रूपमा रहेको तुलसीपुरलाई सुन्दर र व्यवस्थित सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारीले राप्ती राजमार्गको अवस्थाका कारण आफू पनि पीडित बनेको उल्लेख गर्दै बजार व्यवस्थापनका लागि सडक फराकिलो बनाउनुपर्ने आवश्यकता औंल्याउएका थिए । यही सडक समस्याका कारण तुलसीपुर बजार नमुना बजारका रूपमा विकास हुन नसकेको भन्दै यसलाई प्रमुख मुद्दाका रूपमा सदनमा उठाउने प्रतिवद्धता जनाएका हुन ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार कमला जिसीले दिनानुदिन बढ्दो दुर्घटनाको जोखिमप्रति चिन्ता व्यक्त गर्दै सडक स्तरोन्नति अत्यावश्यक भइसकेको बताएका हुन । सरोकारवाला निकाय मौन बसेकोप्रति आपत्ति जनाउँदै सर्वसाधारणको वर्षौंदेखिको जायज माग तत्काल सम्बोधन हुनुपर्ने धारणा राखेका हुन ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले तुइँसोता हाइवे क्षेत्र बस्तीबाट करिब एक किलोमिटर दूरीमै १४ मिटर नाला निर्माण भइसकेको, आफ्नै निजी सम्पत्ति बाटोले खाइसकेको अवस्थामा पनि बस्ती क्षेत्रमा सडक फराकिलो हुन नसकेकोप्रति असन्तुष्टि जनाए । २०३१ सालको ऐनअनुसार कानुनी संरचना बनेको भए पनि समस्या ज्यूँका त्यूँ रहेको गुनासो गरिएको थियो ।

कार्यक्रम समितिका अध्यक्ष नवराज लामीछानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण सदस्य सचिव चेतन रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस