दाङ, ८ फागुन । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाएको घटना सार्वजनिक भएको छ ।
पार्टी सभापति रवि लामिछाने लाई स्वागत गर्न बसेका कार्यकर्ताले बिहीबार राति ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । भिडियोमा केही व्यक्तिहरूले नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ ।
तुलसीपुर एमाले महासचिव शंकर पोखरेल को गृहनगर हो । लामिछाने सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका थिए । यस घटनापछि दाङको राजनीतिक माहोल थप तातिएको छ । सम्बन्धित निकायले घटनाबारे छानबिन गर्ने तयारी गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार