दाङ, २० फागुन । प्रतिनिधिसभा निर्वाचनको मौन अवधिमै दाङ जिल्ला क्षेत्र नं. ३ मा एक स्वतन्त्र उम्मेदवारमाथि आक्रमण भएको छ । शान्तिनगर-३ अँधेरे पाते टाकुरा निवासी ३२ वर्षीय सप्रिक कैंडल (स्वतन्त्र उम्मेदवार) साँझ करिब ८:३० बजेतिर घोराहीतर्फ पारिवारिक कामले जाँदै गर्दा बसपार्क स्थित माछापुच्छ्रे गेट नजिक अज्ञात समूहले कुटपिट गरेको बताइएको छ ।
उक्त घटनामा उम्मेदवारसँगै रहेका दुई जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये शान्तिनगर–४ का १६ वर्षीय सक्षम थापाको टाउकोमा गम्भीर चोट लागेको छ भने ३५ वर्षीय खडक थापाको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ । दुवै घाइतेको हाल राप्ती प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ । निर्वाचनको संवेदनशील मौन अवधिमा नाबालकमाथि समेत आक्रमण भएको घटनाले स्थानीय वासीलाई स्तब्ध बनाएको छ । आक्रमणको कारण राजनीतिक पूर्वाग्रह वा अन्य के हो भन्नेबारे खुल्न बाँकी रहेको छ ।
घटनापछि प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । मौन अवधिमा भएको यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै स्थानीय तहमा त्रासको वातावरण सिर्जना गरेको छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान भइरहेको जनकारी दिएको छ ।
