२०८३ बैशाख २१ गते सोमवार | 2026 May 4th Monday

“सुकुम्बासी हटाए संघर्ष चर्किन्छ” – नेकपा (बहुमत) को सरकारलाई

दाङ,२१ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकारद्वारा सार्वजनिक तथा सरकारी जग्गा व्यबस्थापन नगरी खाली गराउने अभियानप्रति कडा आपत्ति जनाएको छ । पार्टीले उक्त कदमलाई “अमानवीय, अन्यायपूर्ण र जनविरोधी” भन्दै तत्काल रोक्न माग गरेको हो । पार्टीका अनुसार भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू राज्यकै असफल भूमि नीति, असमान विकास र वर्गीय विभाजनका कारण सिर्जित समस्या हुन् । उनीहरूलाई “अतिक्रमणकारी”को आरोप लगाउँदै जबर्जस्ती हटाउनु राज्यको दमनकारी र शत्रुतापूर्ण व्यवहार भएको आरोप लगाइएको छ ।

वक्तव्यमा सरकारले अभिभावकीय भूमिका निभाउँदै वास्तविक सुकुम्बासी, भूमिहीन, मुक्तकमैया तथा गुठियारहरूको वैज्ञानिक ढङ्गले तथ्याङ्क संकलन गरी वैकल्पिक, सुरक्षित र स्थायी व्यवस्थापन गर्नु पर्नेमा जोड दिइएको छ ।

साथै, बल प्रयोग गरेर नागरिकलाई घरबारविहीन बनाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिँदै यस्तो अवस्था आए सम्पूर्ण पीडितलाई एकताबद्ध भई संघर्षमा उत्रिन आह्वान गरिएको छ । पार्टीले आफू सधैँ श्रमिक, उत्पीडित, भूमिहीन र सुकुम्बासीहरूको पक्षमा रहेको र आगामी दिनमा अझ सशक्त रूपमा उभिने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस