२०८३ जेष्ठ २९ गते शुक्रवार | 2026 June 12th Friday

तुलसीपुर – ३ मा वडा अध्यक्ष भलिबल कप – २०८३ हुने

दाङ, २८ जेठ । खेलकुदको विकास तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा ‘वडा अध्यक्ष भलिबल कप – २०८३’ सञ्चालन हुने भएको छ ।

प्रतियोगिता यही जेठ ३० र ३१ गते तुलसीपुरस्थित प्रतापकोट विद्यालयको खेलमैदानमा आयोजना गरिने वडा कार्यालयले जनाएको छ। प्रतियोगितामा वडा नं. ३ भित्रका खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिताका विजेता टोलीलाई ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन प्रतिटोली १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । आयोजकका अनुसार सहभागी खेलाडी तुलसीपुर – ३ का स्थायी बासिन्दा हुनुपर्ने, बसाइँसराइका हकमा कम्तीमा ६ महिनाअघि बसाइँ सरेको हुनुपर्ने तथा प्रत्येक टोलीमा ९ जना खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, खेलाडीहरूले प्रतियोगितामा सहभागी हुँदा आफ्नो परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

प्रतियोगिताको उद्घाटन जेठ ३० गते बिहान ११ बजे हुने तय गरिएको छ भने टोली दर्ता प्रक्रिया जेठ २९ गते बेलुका ६ बजेसम्म खुला रहने आयोजकले जनाएको छ । वडा नं. ३ का वडा सदस्य तथा खेल संयोजक राजेन्द्र कुमार गुरुङले प्रतियोगिता सफल बनाउन सम्पूर्ण खेलप्रेमी, युवा तथा खेलाडीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस